बालसिर्जना संवाददाता २२ भदौ २०७६, आइतवार

Roop Singh
 

यो घटना त्यो बेलाको हो, जब भारत अंग्रेजको गुलाम थियो । ग्वालियरको भिक्टोरिया स्कुलमा एउटा किशोर छैटौँ कक्षा पढ्थ्यो । पढ्नुका साथसाथै ऊ जति तेज थियो, त्यो भन्दा तेज ऊ खेल्नमा थियो । खेल्न पाएपछि ऊ संसार बिर्सिएर त्यसैमा तल्लीन हुन्थ्यो । सो स्कुलका प्रिन्सिपल एकजना अंग्रेज थिए । उनी अत्यन्तै रिसाहा र अनुशासनप्रिय हुँदाहुँदै पनि प्रतिभाका पारखी थिए । उनी आफ्ना विद्यार्थीको प्रतिभा पहिचान गरेर त्यसको उचित कदर गर्न कहिल्यै पछि पर्दैनथे ।

एकदिन उनको स्कुलछेउको एउटा घरबाट एकजना अंग्रेज सज्जन रिसले रातोपिरो भएर आए । उनी तिनै केटा, जो खेल्न पाएपछि संसार बिर्सिन्थे, उसैको बारेमा ती अंग्रेज प्रिन्सिपलसित गुनासो गर्न आएका थिए । रिसाउँदै भने, हेर्नुस् प्रिन्सिपल सर, तपाईको स्कुलको एउटा विद्यार्थीले हक्कीको बल यति जोडले हान्यो कि मेरो घरको पर्खाल नै चर्कियो । त्यस्तो उद्दन्ड विद्यार्थीलाई तपाईले तत्काल विद्यालयबाट निष्कासन गर्नुप-यो । त्यस्तो बदमास विद्यार्थीलाई स्कुलमा राखी राख्नुभयो भने भोलि अझै के के उपद्रव गर्ने हो ।’

उनको उजुरी सुन्नासाथ प्रिन्सिपलले त्यस विद्यार्थीको विषयमा खोजविन गरे । आखिर त्यस विद्यार्थीलाई उनको अगाडि ल्याइयो । प्रिन्सिपल उनलार्य देखेर मुस्कुराए । उसलाई कडा सजाय दिनुको साटो उनले त्यस विद्यार्थीको ढाड थपथपाउँदै उसलाई एउटा हकी र एउटा बल पुरस्कारका रुपमा दिएर थप उत्साहसाथ आफ्नो खेललाई निरन्तरता दिन हौस्याए । बाल्यकालमा ती प्रिन्सिपलले जुन केटालाई प्रोत्साहन गरेका थिए, उनी पछि भारतीय हक्की टिमका कप्तान रुप सिंहका रुपमा परिचित भए ।

Top