विश्व अहिले कोरोनाको कहरमा रूमल्लिएको छ, शक्ति सम्पन्न मुलुकले आफ्ना नागरिकलाई सकेसम्म कसरी सुविधा दिन सकिन्छ भन्ने सोचिरहेका छन्,  त्यही गरिरहेका छन् तर नेपालको परिस्थिति भिन्न छ, जनता गास खोजिरहेका छन्, सरकार शासक बनिरहेको छ, जनता र शासक दुःखको बेलामा त बराबर हुनुपर्ने तर भैरहेको छैन, नेताले संकटलाई स्वार्थमा उपयोग गरिरहेका छन् भने जनता बिल्लिबाठमा परेर पनि अझै धैर्य गुमाएका छैनन् ।

यही परिवेशमा माहेन्द्री उच्च मावि, गजौडे, तनहुँका पूर्व प्राचार्य कृष्णचन्द्र शर्मा कास्कीको लेखनाथमा कृषि कर्ममा व्यस्त छन्, सँगैका साथीहरू राजनीतिका ठूला ठूला गफ गर्दै समय बिताएकोमा उनी दुःखित छन्, आफ्नो जग्गा जम्मा ५ आना र त्यसैमा बनेको एकतले घर हो, घरको वरिपरी सागपात लगाएर छिमेकीलाई चकित बनाएका छन्, एउटै झालमा ६२ ओटा लौका फलेका छन्, एउटै झालमा फलेका ८२ ओटा काँक्राले सिंगो लकडाउनलाई चुनौति दियो, घर वरिपरी छिमेकीका खाली जग्गामा खनजोत, मलजल गरेर सिमी, बोडी, घिरौंला, भेण्डी, टमाटर, आलु, फर्सी फलाएका छन्, ५ आनाकै घडेरीमा लगाएको बाह्रमासे कागतीले बाह्रै महिना बिहान बेलुका खान प’गेको छ, घरको गेटैमा दालचिनीको रूख छ,  जिम्मुको गाँज छ, खुर्सानी लटरम्म छन्, लसुन र प्याज किन्नु पर्दैन, आखिर मेहनतै त रहेछ, नहुने के छ र ?

असारको घाममा पनि घर अगाडि छिमेकी साथीले तरकारी खेती गर्न दिएको ५ आने जग्गामा उनी धम्मरधुस गरेर तरकारी लगाइरहेका थिए, चर्का घाममा तरक्क पसिना चहाउँदै काम गरेका शर्मासँग बालसिर्जनाले यो उमेरमा पनि कति मेहनत गर्न सक्न’भएको भन्दा उनले भने ‘मेहनत नगरी खाएको त पच्दै पच्दैन ।’  बिहान उठेपछि नित्यकर्म सकेर उनी कोदालै समाउँछन्, फोहोर मैला मन पर्दैन भन्छन् । साँच्चै समाजवादी भनेको यही पो हो कि ? यस्तै पो हो कि ?

उनी कुराकानीकै क्रममा रमाउँदै भन्छन् – ‘देशमा लकडाउन भयो, मान्छेले चाहिने नचाहिने क’रा गरेर, चाहिने नचाहिने सोचेर दिन खेर फालेका छन्, तास खेलेर बर्बाद भएका छन् तर म त खाना खाएपछि एकैछिन आराम गर्छु  अनि श्रममा लागि हाल्छु,  बिहानको घुमफिरमा पनि बाटोमा भेटिएका गोवरका थाप्रा, पातीका मुन्टा टिप्दै हिँड्छु,  खेतीमा विकासे मल हाल्न पर्दैन, राम्रै फल्छ, म त हेडमास्टर हुँदा पनि आँफै खाना पकाउने, भाँडा माझ्ने, तरकारी लगाउने गरेर बस्थें, हरियो तरकारी बिना कहिल्यै खाना खाइएन र तरकारी किनेर खाने पनि गरिएको छैन, शरीरमा त्यस्तो रोग पनि छैन, काम गरेपछि खाना पनि रूच्छ, मनमा नचाहिने कुरा खेलाउन पनि पर्दैन, कति मज्जा… ।‘

घरमा पनि सानो परिवार श्रीमती, छोरा–बुहारी र आँफू  छन्, उनी सबैसँग हार्दिकता पूर्वक घूलमिल हुन्छन्,  भ्रष्टाचारीले यस्तो घर बनायो, यति कमायो भनेर उनी कहिल्यै निरास हुन्नन्, बरू भ्रष्टाचारको कमाई एकदिन नासिन्छ नासिन्छ भन्छन्, कसैले पदको, धनको, रूपको, ज्ञानको घमण्ड गरेको पटक्कै मन पर्दैन उनलाई, उनी भन्छन् –‘मलाई त काम पुगेको छैन, फुर्सदमा डोको बुन्छु, कोर्को बुन्छु, नाम्लो बाट्छु, तर त्यस्ता सामग्रीलाई अहिलेका मान्छेले वास्तै गर्दैनन् र पो ! होइन नेताले सधैं जनतालाई ढाँटेर होला त ? उनी प्रश्न पनि गर्छन् । आखिर मरेरै जाने हो, किन नचाहिँदो गरेर कमाउनु पर्छ र ? उनी ढुक्कसँग भन्छन् – दुई दिनको जिन्दगी हो, हाँसी खुशीमा आफ्नै मनलाई आनन्द आउने काम गरेर बिताउनु भन्दा मजा के छ र ?’

(बालसिर्जनासँगको कुराकानीमा आधारित)

Top