बालसिर्जना संवाददाता २१ असार २०७७, आइतवार

 

गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देवो महेश्वर

गुरु साक्षात् पर ब्रह्मा तस्मै श्री गुरवे नमः

गुरुले हामी शिष्यलाइ ज्ञान बाँड्ने काम गर्नुहुन्छ । गुरु विद्ध्यालयमा पढाउने मात्र नभइ ज्ञान दिने व्यक्तिलार्इ भनिन्छ । हाम्रो पहिलो गुरु आमा बुबा वा अभिभावक हुनुहुन्छ भने दोस्रो चाहिँ शिक्षक । गुरु विनाको जीवनको हामी कल्पना सम्म पनि गर्न सक्दैनौं ।किन भने हामीले गुरुबाट धेरै कुराहरु सिक्न पाएका छौं।

गुरुले आँफूमा भएको ज्ञान शिष्यहरुमा बाँडेर उनीहरुको असल भविष्यको लागि प्रेरणा दिइरहनुहुन्छ ।आँफूले अपमान नै सहेर पनि शिष्यलार्इ सपार्नको लागि गुरुले निकै मेहनत गर्नुहुन्छ ।खराब बाटोमा लाग्न सक्ने जोखिमबाट आफ्ना शिष्यहरुलार्इ जोगाउनुहुन्छ ।गुरुले सँधै एक माझीको रुपमा काम गरिरहनुहुन्छ ।निरन्तर रुपमा अरुलार्इ गन्तव्यमा पुर्याउन सहयोग गरिरहने माझी जसरी नै शिष्यहरुलार्इ उत्प्रेरणा दिएर उनीहरुलार्इ जीवनको गन्तव्यमा पुर्याउन सहयोग गुरुले नै गर्नुहुन्छ ।

हामीले बाल्मिकीले लेखेको लामो कथा रामायण कसैले टेलिभिजनमा हेरेका छौं भने कसैले सुनेका छौं ।रामायण कथा लेख्ने बाल्मिकी पनि रत्नाकर डाँकु बाट बदलिएर भएका थिए । उनका गुरु नारायणले उनीलार्इ सत्मार्गमा लाग्न प्रेरणा दिएकै भएर उनले रामायण जस्तो सबैको लोकप्रिय लामो कथा तयार गर्न सफल भए ।यसबाट मानिसलार्इ सही मार्गमा लाग्न गुरुको महत्व कति छ भन्ने स्पष्ट हुन्छ ।

हरेक गुरुले शिष्यलार्इ राम्रो शिक्षा दिनुभएको हुन्छ । असल बाटोमा हिँडाउन प्रयास गरिरहनुभएको हुन्छ । हामीले पनि गुरुको अर्ती उपदेशको सम्मान गर्दै उहाँले सिकाएको कुरालार्इ राम्रोसँग सिक्दै असल मानिस बन्नलार्इ प्रयास गर्नुपर्दछ ।

गुरु सँधै आफ्नै ठाँउमा रहेर अरुलार्इ माथी पुर्याउने काम गर्नुहुन्छ ।उहाँले पढाएका कोही डाक्टर कोही इन्जिनियर कोही नमुना कृषक बनेका छन् भने कोही कुनै पेशामा लागेका छन् ।जसले गुरुको सम्मान गर्दछ र उहाँले पढाएको राम्रोसँग पढ्दछ उ नै उत्कृष्ट बन्न सक्छ ।महाभारतमा गुरु द्रोणाचार्यले पाण्डवका ५ भाइ सँगै धेरैलार्इ एकैसाथ राखेर पढाएका थिए तर सबैमध्ये अर्जुन सर्वोत्कृष्ट थिए । अर्जुनले निकै मेहनत गरेर गुरुजत्तिकै ज्ञान लिन सके किनकी उनले ध्यान दिएर अध्ययन गर्दथे । त्यसैले गुरुले सिकाएका कुरा आफूले लिन सक्नुपर्दछ । गुरुले सबैलार्इ सिकाउने कुरा त त्यही हो तर कसैले धेरै सिक्न सक्दछ त कसैले थोरै । सिकाइ शिष्यको क्षमता र निरन्तरको मेहनतमा भर पर्दछ ।

गुरुको अपमान कसैले पनि कहिल्यै गर्नुहुँदैन ।उहाँहरुको अपमान गर्नु भनेको आँफैलार्इ बर्बाद गर्नु हो । गुरुले सँधै शिष्यको भलो होस् भन्ने चाहना राख्नुभएको हुन्छ । त्यही भएर गुरुले देखाएको बाटोमा निरन्तर लाग्न सक्दा हामी सफल हुन सक्छौं ।

रुविआ पराजुली

कक्षा ६

बुढानिलकण्ठ स्कुल, काठमाण्डौ

 

Top