एक जना उरण्ठेउलो केटो थियो । चकचकीमा नामी, उटपट्याङ् गर्नमा माहिर त्यो केटोलाई स्कूलका सबैल चिन्दथे । चाहिने नचाहिने गफ हाँकेर, छक्काएर, उल्लु बनाएर साथीहरूलाई हँसाउने आफूभन्दा पनि हाँसी मजाक लिनु नै दिनु नै उसको दैनिकी जस्तो थियो । जस्तोसुकै नभएको कुरालाई पनि साँच्चिकै भएको जस्तो देखाउन सक्ने त्यो केटोको नाम भने सिद्धिलाल थियो । अनुहार हेर्दा खेरि नै चम्मु जस्तो देखिने सिद्धिलाल कक्षा सातमा अध्ययन गर्दथ्यो । सधैंभरि हँसिलो देखिने उनी उटपट्याङ् फटाहा भए तापनि कक्षामा सबैको प्रिय थियो, त्यसो हुनुको एउटा कारण साथीभाइलाई केही पर्दा मद्दत गर्न पुगेकै हुन्थ्यो ।
कहिले काँही सरहरुलाई पनि नाजवाफ पार्ने सिद्धिलाल एकदिन जिँग्रिङ्ग कपालमा कक्षामा बसिरहेको थियो । हेर्दाखेरि नै फोहोरी जस्तो लाग्ने गरि कपाल किन नकाटेको भनेर सरले सोद्धा “कपाल कोर्न खोजेको सर, काँइयो नै हरायो, कहाँ राखें कहाँ राखें । फेला नै परेन । आजै नयाँ काँइयो किनेर लैजान्छु सर ।” सरले केही भन्नु भएन । त्यस्तै अर्को एकदिन गुजुमुजु परेको सर्ट र पाइन्ट देखेर फिजिकल साइन्स पढाउने मिसले “यसरी ड्रेसमा आउने हो ?” भनेर गाली गर्दा “आइरन गर्न लागेको मिस बत्ती नै गइदियो ।” भनेर टारिदियो । मिसले होला त नि भनेर केही भन्नु भएन । जुत्तामा हिलो देख्दा “घर अगाडि ढल खनेको रहेछ” यस्तै यस्तै जुक्तिद्वारा सिद्धिलाल चोखो हुने गर्दथ्यो ।
स्कूलको दशौं वार्षिकोत्सव धुमधामसँग गर्ने, स्कूलको कार्यक्रममा हाजिरी जवाफ प्रयोगिताको साथै कथा, कविता, खेलकूदहरुको प्रतियोगिता पनि थियो । आफ्ना कक्षाका सबै छात्रछात्रहरुले सिद्धिलाल नै हाजिरी जवाफको लागि छानिएपछि सिद्धिलालले भाग लिने भयो र दुईसय मिटर दौडमा पनि नाम लेखायो ।
वार्षिकोत्सवको कार्यतालिका अनुसार कार्यक्रमको पहिलो दिन हाजिरी जवाफ प्रतियोगिता शुरु भयो । कक्षा छ, सात, आठ र नौ का एक एक जना विद्यार्थी समावेश प्रतियोगितामा प्रधानाध्यापक सर स्वयम्को संयोजकत्वमा अन्य दुई जना शिक्षक र शिक्षिका, एक एक जना जजको रुपमा थिए । उक्त प्रतियोगितात्मक कार्यक्रममा पहिलो प्रश्न थियो –
१. यस पाठशालाको जन्म कहिले भएको थियो ? साल, महिना, गते र बार समेत भन्नुस् ।
यो प्रश्नको उत्तर तीन जनाले सही सही दिए तर सिद्धिलालले भन्न सकेन । हाँसेर पास गरिदियो ।
२. दोस्रो प्रश्न – पाटनको कृष्ण मन्दिर निर्माण गर्ने राजाको नाम भन ।
उत्तरमा नौ कक्षाको विद्यार्थीले सिद्धिनरसिंह मल्ल भनेर सही उत्तर दियो । दुईजनाले गलत उत्तर दिए । सिद्धिलालले केही भन्नै सकेन ।
३.तेस्रो प्रश्न ः तेञ्जिङ शेर्पासँगै सगरमाथा चढ्ने को हुन् ?
उत्तरमा दुई जनाले हिलारी भने, एक जनाले सर एडमण्ड हिलारी भने । सिद्धिलालले भन्ने सकेन ।
४. चौथो प्रश्न ः दुई सेकेण्डभित्रमा यस प्रश्नको उत्तर दिनुपर्छ, सबभन्दा पहिले दिनेलाई मात्र नम्बर दिइन्छ । ल भन सिद्धार्थ गौतम बुद्धको जन्म भएको ठाउँको नाम के हो ? समय शुरु !
“नगरकोट” प्रश्न सुन्ने बित्तिकै जुरुक्क उठेर सिद्धिलालले भनिहाल्यो । सबै गललल्ल हाँसेको देखेर आफूले जितेँ भनेर सिद्धिलाल पनि हाँस्न थाल्यो । तीन जना प्रतियोगी पनि खुब हाँसे र हाँस्दा हाँस्दै दुई सेकेण्ड नाघ्यो । प्रधानाध्यापकले हाँसो थाम्दै भने “तिमीले यो कुरा कसरी थाहा पायौ ?” सिद्धिलालले फुर्तिका साथ भन्यो “बुद्धजयन्तीको दिनमा बाआमासँग नगरकोट गएको त्यहाँ बुद्धको पूजा गरेका थियौं ।” सबै एकपल्ट फेरी हाँस्न थाले । अनि प्रधानाध्यापकले भने “उत्तर गलत, तीन जनाले भन्न सकेन, त्यसैले यसमा कसैले पनि नम्बर पाउँदैन । बुद्ध लुम्बिनीमा जन्मेका हुन् ।”
सात कक्षाका विद्यार्थी खासखुस गर्न थाले “पढेको भए पो थाहा पाउँछ, पुस्तकमै भएको पनि भन्न सकेन । खाली गफ हाँक्न, खेल्न मात्र जानेको छ, हार्ने पक्का भयो, बेइज्जत हुने भो ।”
५. पाँचौं प्रश्न ः विश्वप्रसिद्ध फुटबल खेलाडी जुन ब्राजिलका थिए । उनको नाम केहो ?
तीनै जनाले गलत उत्तर दिए, सिद्धिलालको उत्तर सही आयो “पेले” । फुटबल खेल्दा ऊ सँधैं पेले जस्तै हुने हो भन्दै बल हान्ने गर्दथ्यो ।
६. छैटौं प्रश्न ः मानि लियौं, स्कूल बस स्टप मेन रोडमा हुन्छ, पानी परिरहेको थियो , छालाको जुत्ता नभिजाइकन बस स्टप सम्म पुगेर कसरी बसमा चढ्ने ?
दश कक्षाको विद्यार्थीले रबरको जुत्ता लगाएर जाने भन्यो, अर्कोले चप्पलमा जाने र बस चढिसकेपछि छालाको जुत्ता लगाउने भन्यो र तेस्रो छ कक्षाको विद्यार्थीले बाबाले छाता ओढाएर बोकेर जाने भन्ने उत्तर दियो । अन्तिम पालो सिद्धिलालको थियो । उसको जवाफ थियो “घुँडासम्म प्लाष्टिक झोला बेरेर जाने ।” उसको जवाफ सुनेर जजहरु एक आपसमा कानेखुशी गर्न लागे । एकछिन सबैमा सन्नाटा छायो र अन्तिममा सिद्धिलालको जवाफ ठीक हो भनेर निर्णय गरे । पानी परेको बेला खेल्न जाँदा आमाले जुत्ता भिजेको देख्नु भयो भने पिटाइ खाइन्छ भनेर उसले सधैं त्यसै गथ्र्यो ।
७. सातौं प्रश्न ः बाहिर होहल्ला चलिरहेको थियो, नपढि हुन्न, भोलि जाँच दिनेपर्ने । ल भन त्यो हल्ला शान्त गरि कसरी पढ्ने ?
अरु सबैले झ्याल बन्द गर्ने, हल्ला नगर भन्ने, हल्ला शान्त भएपछि पढ्ने आदि आदि उत्तर दिए । सिद्धिलालले “दुबै कानमा कपास कोचेर पढ्ने” भन्यो । यसमा पनि उसैले नम्बर पायो । आमाले कानमा तेल हाल्दा त्यस्तो गर्ने सम्झेको थियो ।
८. आठौं प्रश्न ः वनभोजमा विद्यार्थीहरु खेलिरहँदा एकजना केटोलाई औंलामा घाउ लागेछ र रगत पनि आएछ । ल भन त्यस्तो बेला के गर्ने ?
कसैले रुमाल च्यातेर बाँध्ने, कसैले मिसको मा लैजाने, कसैले चोट लागेको ठाउँमा एकछिन च्याप्प समात्ने भने । अब सिद्धिलालको पालो आयो । उसले भन्यो “घाउ लागेर रगत बगेको ठाउँमा पिसाब फेरिदिने ।” फेरि एकपल्ट सबैले हाँसो थाम्न सकेनन् । “वाहियात” एक जना जजले मुख खोले । त्यसमध्ये एकजना जज आयुर्वेदसम्बन्धी ज्ञान भएका रहेछन् । उदाहरण प्रस्तुत गर्दै उनले सिद्धिलालको जवाफमा सही थापे । यसमा पनि सिद्धिलालले नम्बर पायो ।
९. नबौं प्रश्न नमिलेको देखेर जजहरुबाट नै रद्ध गरियो ।
१०. अब अन्तिम प्रश्न ः तिमीहरुलाई हामी शिक्षक शिक्षिका मिलेर यतिका मिहिनेत गरिकन किन पठाएको, पढाउन आएको ?
कक्षा छ को उत्तर “धेरै पढेपछि ठूलो मान्छे बनिन्छ भनेर ।”, कक्षा ७ को उत्तर थियो “देशको भविष्यका कर्णधार भनेर ।” कक्षा ८ को उत्तर असल नागरिक बनून भनेर । कक्षा ९ को बाबुआमाले महिना महिनामा पैसा बुझाएर । सिद्धिलालको उत्तर सुनेर कक्षा ७ का विद्यार्थी र उपस्थित सबै जना तीन छक परे । त्यो कार्यक्रममा बाहिरबाट पनि अतिथि बोलाइएको थियो । कतिपय शिक्षकले शिक्षण पेशाप्रति नै दाग लाग्ने खालको जवाफलाई खुले आम भत्र्सना गरे । प्रधानाध्यापकले अतिथितिर मुन्टो फर्काए । निर्णय गर्न समय लाग्यो । उता स्कूलका विद्यार्थीहरुको सामूहिक आवाज –“सिद्धिलाल हाइ हाइ, सिद्धिलाल, सिद्धिलाल !” थियो । अन्तमा प्रमुख अतिथि समेतको रायमा सिद्धिलाललाई अंक थपी हाजिरी जवाफ प्रतियोगिताको बिजयी घोषित गरियो । उसका कक्षा शिक्षकले चकलेट किनेर खुवाउनु, खानु भनेर सय रुपियाँको नोठ उसको खल्तीमा राखिदिए ।
दिउसो भएको दौडमा पनि सिद्धिलाल नै प्रथम भयो । दुईसय मिटरको त्यो दौडमा दुबैहातको कुहिना फर्काइ भएभरको शक्ति लगाएर दौडँदा पछिकोले मौका पाएन, यसरी झेल्ली गरेर भए पनि सिद्धिलालको गलामा स्वर्णपदक झुण्डियो ।
पर्सिपल्ट आइतबारका दिन कक्षा शिक्षकले दिनु भएको सय रुपियाँले सिद्धिलालले बदाम किनेर ल्यायो र स्कूलको चौरमा साथीहरु जम्मा गरी बोक्रा फुटाउँदै बदाम खाँदै गरेको थियो । कक्षा शिक्षक पनि टुप्लुक्क आइपुगे । कक्षा शिक्षक देख्नासाथ जुरुक्क उठेर सिद्धिलालले भन्यो “सरले दिनुभएको पैसाले बदाम किनेर खाएको, चकलेट किनेर ल्याएको भए मुखमा राख्यो गयो, यसरी साथीहरु मिलिमिली गफ गर्न कहाँ पाइन्थ्यो सर ! सबै हाँसे, सर पनि मुसुक्क हाँसेर जानुभयो ।
नेमसिंह नकर्मी
बल्खु,







