रमेशचन्द्र घिमिरे, बालसिर्जना संवाददाता १६ भदौ २०७७, मंगलवार
वैशाखमा कल्कलाउँदो मुना पलाउँछ ।
जेठको घाम नसम्झाऊ आँत जलाउँछ ।।
आली खनौँ, खेत जोतौँ, बीउ छरौँ, रोपौँ ।
फुत्केला कि असार महिना मिलिजुली छोपौँ ।।
साउन-भदौ लागेपछि लाग्छ बादल-झरी ।
तीज मान्न हाम्री दिदी आउँछिन् कसो गरी ? ।।
आकाशले धर्ती धोयो खुसियाली छायो ।
असोज महिना के आएथ्यो दसैँ पनि आयो ।।
कार्तिकको तिहारमा भैलो खेल्न जाऊँ ।
रोटी खाऊँ,बहिनीसँग टीका पनि लाऊँ ।।
मङ्सिर लाग्यो भकारीमा भरौँ धान टम्म ।
पुस-माघको जाडो छेक्न सिरक ओढौँ गम्म।।
फागुनले नजानिँदो गर्मी बोकी ल्यायो ।
हुरीसँग उड्दै-उड्दै चैत महिना आयो ।।
-भोर्लेटार, लमजुङ