बालसिर्जना संवाददाता ३० जेठ २०७७, शुक्रवार

 

नेपाल सरकारले समयमा हुन नसकेको एसइई परीक्षा खारेज गर्ने निर्णय गरेको छ । यसबाट विद्यार्थीहरूमा आफ्नो मूल्यांकन कसरी हुने भन्ने जिज्ञासा र खुल्दुली पनि बढ्न थालेको छ । एसइई परीक्षा एसएलसी होइन भन्ने कुरा बुझ्न नसक्दा अभिभावकहरू पनि सबैभन्दा राम्रो ग्रेड आफ्नो बच्चालाई दिनुपर्ने तर्क गर्दै विद्यालय धाउन थालिसकेका छन् । एसईईको हाउगुजी एउटा विकृति थियो भने जबर्जस्ती राम्रो ग्रेड दिन लगाउने अर्को विकृतिले टाउको उठाउन खोजेको देखिन्छ । यस अवस्थामा सरकारले स्पष्ट, वैज्ञानिक र तर्कसङ्गत कार्यविधि निर्माण गर्न नसक्ने हो भने एसइईको खारेजीले शैक्षिक क्षेत्रको सुधारमा खासै परिवर्तन ल्याउन सक्ने सम्भावना देखिँदैन ।
कसरी मूल्याङ्कन गर्ने ?
वर्षभरि पढेका कुराको तीन घण्टामा गरिने मूल्यांकन आफैंमा अवैज्ञानिक विधि हो । यसो भन्नुको तात्पर्य विद्यार्थीको मूल्यांकन नै नगर्ने वा राम्रो गर्न सक्नेलाई सामान्य किसिमको र सीप सिक्न नसकेकालाई पनि उत्कृष्ट किसिमको नतिजा दिने भन्ने भने अवश्य होइन । यसैले निजी विद्यालय तथा एसईईको हाउगुजी पालेर बसेका अभिभावकहरु जुर्मुराउन थालेका छन् । यस अवस्थामा शिक्षा मन्त्रालयले सम्वन्धित विद्यालय र विषय शिक्षकलाई विश्वास गर्नैपर्दछ तर हामी कहाँ यो पहिलो सुरुवाती कार्य भएकाले प्रमाणीकरणको काम जिल्ला शिक्षा कार्यालयले गर्ने नभई मूल्यांकनको स्पष्ट ढाँचा र प्रमाणीकरण विधि विकास गर्नुपर्दछ । यसलाई उपयुक्त विधि सम्बन्धित विषय शिक्षकले गरेको आफ्ना विद्यार्थीको मूल्यांकन, विद्यालयद्वारा सञ्चालित परीक्षामा प्राप्त गरेको अङ्क समेतलाई आधार मानी विद्यालयले आफ्नो विद्यालयको नतिजा पालिका शिक्षा कार्यालयमा बुझाउने, पालिका शिक्षा कार्यालयले सम्बन्धित विद्यालयको स्तरअनुकूलकोको नतिजा हो होइन भन्ने परीक्षण गरी बोर्डमा पठाउने व्यवस्था गर्नुपर्दछ । यसरी प्राप्त भएको नतिजालाई बोर्डले समग्रतामा विद्यालयको विगत ३ वर्षको नतिजाको विश्लेषण गरी आवश्यक थ्रेसहोल्ड तयार हुनुपर्दछ । यस आधारमा विद्यालयका प्रत्येक विद्यार्थीको उपलब्धि ग्रेडिङ गर्ने व्यवस्था गरेमा मात्र यसको विश्वसनीयता रहन सक्छ र विकृतिले स्थान पाउने छैन । आगामी वर्षबाट भने अन्य कक्षाको झैँ सम्बन्धित विद्यालयले मूल्याङ्कन गरी प्रमाण पत्र दिने व्यवस्था गर्नुपर्दछ ।
हट्ला त एसइई को भूत ?
अहिलेको एसइई परीक्षा कक्षा ७, ८ वा ९ कक्षाको परीक्षाभन्दा खासै फरक होइन तर पनि अभिभावक र समाजमै एसइई भनेको जीवनको सबैभन्दा ठूलो उपलब्धि र जीवनमा प्राप्त गरेको पहिलो शैक्षिक योग्यताको प्रमाणपत्र हो भन्ने भ्रम रहेको छ । अहिले एसइई १२ कक्षामा स्थानान्तरण भइसकेको अवस्था छ । त्यसैले केही हदसम्म मानिसको मस्तिष्कमा भएको सोचलाई निराकरण गर्न समय लाग्नेछ तर अहिलेकै अवस्थालाई उदाहरणका रूपमा लिएर यो प्रमाणपत्र अरु कक्षा पास गर्दाखेरिको जस्तै प्रमाणपत्र हो भन्ने कुरालाई स्थापित गराउन पनि माथिल्लो तहको भर्ना गर्ने विधिमा परिवर्तन गर्नु आवश्यक छ । विद्यार्थीमा सीप नभए पनि सर्टिफिकेटमा भएको ग्रेडका आधारमा माथिल्लो कक्षामा विशेष विषयमा भर्ना लिने गरियो भने एसइई हटे पनि एसइईको विकृति रहिरहनेछ । त्यसैले मन्त्रालयले उपयुक्त गाइडलाइनको निर्माणका साथसाथै भर्नाका लागि उपयुक्त निर्देशन समेत दिनु आवश्यक छ । यसका लागि विज्ञको राय र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई आत्मसात गर्नुपर्दछ । यसो गर्न सकेमा कोरोनाको महामारी विद्यालय शिक्षा क्षेत्रका समस्याहरुलाई बढार्ने कामको सुरुवातीको अवसर समेत बन्न सक्नेछ ।
एसइई परीक्षाको आफैंमा कुनै महत्त्व नभए पनि लामो समय भिजष् समाजले यसलाई हाउजी बनाउँदै आएकाले एकैपटक सबैको मन मस्तिष्कबाट यो भ्रम मेटिने सम्भावना छैन जसका लागि समय लाग्नेछ तर सरकारी निकायबाटै स्पष्ट मार्गनिर्देशन र कार्यविधि तय गर्ने हो भने अहिलेको अवस्थामा एसी सम्बन्धी भ्रम र यससित सम्बद्ध सबै किसिमका विकृतिहरुलाई समाधान गर्ने सुनौलो मौका छ यसैले अभिभावक र विद्यार्थीहरु राम्रो ग्रेडका लागि शिक्षक र विद्यालय लगाउनुभन्दा आगामी दिनमा सीपमूलक शिक्षा कसरी प्राप्त गर्ने र क्षेत्रमा आफूले राम्रो गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु पर्दछ ।

(लेखक मनाेपरामर्श एवम् शिक्षाविद् हुनुहुन्छ)

Top