– शोभा बराल चापागाई, बालसिर्जना संवाददाता २४ भदौ २०७७, बुधवार

 

भैरव अर्यालको परिचय
नेपाली हास्यव्यङ्य क्षेत्रका शिखर व्यक्तित्व भैरव अर्यालको जन्म वि. सं. १९९४ असोज ५ गते कुपण्डोल, ललितपुरमा एक निम्नमध्यम परिवारमा भएको थियो । उनी पिता होमनाथ अर्याल र माता खेमकुमारी अर्यालका पुत्र हुन् । उनले नेपालीमा एम. ए.सम्मको अध्ययन गरेका थिए । उनले विभिन्न संघसंस्थामा आबद्ध भएर सेवा गरेका थिए । उनका निबन्ध, समीक्षा एवम् सम्पादित कृतिहरू प्रकाशित छन् । उनले वि. सं. २०२२ सालको राष्ट्रिय कविता महोत्सवमा प्रथम पुरस्कारबाट पुरस्कृत र २०२६ सालमा रत्नश्री सुवर्ण पदकबाट सुशोभित हुने अवसर प्राप्त गरेका थिए । उनको मृत्यु वि. सं. २०३३ असोज १९ गते गोकर्ण, काठमाडौँमा भयो ।
भैरव अर्यालको निबन्धकारिता
कविता लेखनबाट साहित्य यात्राको शुरुवात गरेका भैरव अर्यालले २०१३ सालमा हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट नेपाली निबन्ध विधामा प्रवेश गरेका हुन् र उनको निबन्ध यात्राले अनेक घुम्ती पार गर्दै अवसानमा पुगेको देखिन्छ । कविता लेखनसँगै निबन्ध लेखनको पूर्वाभ्यास गरेका अर्यालले २०१३ सालमा ‘खोलापारिका पुरेत बाजेु निबन्ध ‘हालखबरु पत्रिकामा प्रकाशित गराएर औपचारिक रूपमा निबन्ध यात्रा शुरु गरेको देखिन्छ । उनका काउकुती (२०१९), जयभुँडी ( २०२२), गलबन्दी (२०२६) इतिश्री (२०२८), दस औतार (२०३३) र टेढो ऐना (२०६३)जस्ता हास्यव्यङ्यात्मक निबन्ध सङ्ग्रहरू प्रकाशित छन् ।उनका टेढो ऐना बाहेकका निबन्ध सङ्ग्रहहरूलाई भैरव पुरस्कार गुठीले २०६० सालमा ‘भैरव अर्यालका हास्यव्यङ्ग्य शीर्षकको सङ्ग्रहमा सङग्रहित गरेको छ । लगभग १७ वर्षको लेखन अवधिमा यति धेरै निबन्ध नेपाली निबन्ध साहित्यलाई दिने अर्यालले हास्यव्यङ्ग्य निबन्धको विकासमा विशेष योगदान पु¥याएका छन् । साझा कथा, साझा निबन्ध, छ्याकन कविता सङ्ग्रहको सम्पादन गरेका अर्यालले रचना, रत्नश्री, मधुपर्क गोरखापत्र र हालखबर जस्ता पत्रिकाको समेत सम्पादन गरेका थिए । उनले गोरखापत्रको सम्पादकीय फाँटमा जागिरे भएपछि राजनीतिक, सामाजिक र आर्थिक महŒवका समसामयिक लेखहरू लेख्दै खारिएको मस्तिष्कबाट हास्यव्यङ्ग्य निबन्धमा कुशलता प्राप्त गरको देखिन्छ । उनका निबन्धमा हास्यका साथसाथ व्यङ्ग्यका झटाराहरू हानिएका हुन्छन् । राष्ट्रिय र अन्तर्रााष्ट्रय परिवेशको चित्रण उनका निबन्धमा गरिएको हुन्छ । उनी आत्मपरक निबनधकार हुन् ।उनलाई सफल बनाउने प्रवृत्ति भने हास्यव्यङ्ग्य नै हो । उनी समाजमा भएका बेथिति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दछन् । उनले हाम्रो समाजका धार्मिक, राजनैतिक, आर्थिक, शैक्षिक, प्रशासनिक आदि सबै क्षेत्रका विकृतिहरूलाई औंल्याएका छन् ।
‘मपाइँ’ निबन्धको समीक्षा
विषयवस्तु
भैरव अर्यालद्वारा लिखित मपार्इं निबन्ध पहिले ‘जयभुँडी” निबन्ध सङ्ग्रहमा र पछि ‘भैरव अर्यालका हास्यव्यङ्ग्य” मा प्रकाशित एक हास्यव्यङ्ग्य निबन्ध हो । निबन्धकारले यो निबन्धमा मपाईंत्वका बारेमा प्रष्ट पारेका छन् । मपाईंत्वको प्रदर्शन ब्रह्माजीकै पालादेखि चलिआएकोले राम, रावण, कृष्ण, क्राइस्ट, हिरण्यकशिपु, हिटलर, पादरी, सबैका कथामा मपाईंकै गाथा भेटिने भनिएको छ । तपाईंत्व स्वीकार नगरेर म को महिमाको मादल बजाउनु नै मपाईंको लक्षण हो । सभ्यताको विकास सँगसँगै मपाईंत्वको पनि विकास हुदै आएको हो । मपाईंकै कारण संसारमा महासङ्ग्रामहरू भएका र विजयी मपाईंहरूका कथा इतिहास बनेका भनिएको छ । निबन्धकार “मपाईं बन्नुलाई आत्म आदर खोज्ने मानवीय विशेषता मान्दछन् । अनि प्रत्येक मानिस आफू अरू भन्दा फरक रहेको मपाईंत्वको प्रदर्शन यसरी व्यक्त गर्दछन् ।” भन्दछन् ।
प्रत्येक पसले भन्छ म अरू जस्तो ठगाहा होइन । प्रत्येक कर्मचारी भन्छ म अरू जस्तो कामचोर होइन । प्रत्येक युवती भन्छे म अरू जस्तो छँडुली होइन । प्रत्येक युवक भन्छ म अरू जस्तो नामर्द होइन । प्रत्येक कवि कलाकार भन्छ म अरू जस्तो बकमफुसे होइन । प्रत्येक नेता भन्छ म अरू जस्तो झ्यासझुस नेता होइन । (घिमिरे २०६० ः६९)
कहिलेकाहीँ राजनीतिमा कुकुर र बिरालोको पनि संयुक्त मोर्चा बन्ने कुरा व्यक्त गर्दै भिन्न सिद्धान्त र विचार बोकेको दलहरू बीचको गठबन्धनलाई औंल्याउन खोजेका छन् । सबैले प्रदर्शन गर्न रुचाउने यो मपाईंत्व देखाउन पाउनुलाई व्यक्तिको मौलिक अधिकारका रूपमा चर्चा गरेका छन् । साहित्यिक क्षेत्रमा पनि मपाईंत्वको रोग रहेको चर्चा गर्दै निबन्धकारले अहिलेको समय कामकरणको नभएको र नामकरणको समय भएकाले साहित्यकारहरू पनि आफ्नो नाम राख्न अरूका कुरा सुन्ने भन्दा आफ्नै महात्म्य भन्न मात्र रुचाउँछन् । मपाईं धेरै थरी हुन्छन् । कसैलाई उपाधि मपाईंले छोएको भोलिपल्टैदेखि उनीहरू शङ्का गर्न थाल्दछन् के मजत्तिको पढैया अर्को कोही होला त ? कसैलाई पगरी मपाईं लागेको हुन्छ, ओहदामा पुग्नेबित्तिकै उनीहरूका आँखाले सबैलाई हल्कारा देख्छ ।कसैलाई मोहनी मपाईंले सताएको हुन्छ । ( घिमिरे, २०६० ः७०)
निबन्धकारले मपाईंका विभिन्न थरीको चर्चा गर्दै कसैलाई उपाधिको, कसैलाई पगरीको, कसैलाई मोहनीको मपाईंले छोएको हुन्छ त्यस्तै कोही चुइयाँ त कोही फुइयाँ अनि कोही टपरटुइयाँ यी सब मपाईं प्रदर्शनमै लागेका हुन्छन् भनेका छन् । कसैले तपाईं नभन्नेहरूलाई झन् मपाईंको भोक लाग्ने, दिनभरि सडकतिर रुमल्लिएर कसैले तपाईं नभनिदिएपछि साँझमा घरमा श्रीमतीसँग भए पनि आफ्नो मपाईं प्रदर्शन गर्न पछि नपर्ने कुरा निबन्धमा व्यक्त भएको छ । यसरी मानिसमा रहेको अहम्पना निबन्धको विषय बनेर आएको छ ।
मूलभाव
निबन्धकार भैरव अर्यालले मपाईं निबन्धमा मानिसमा बढ्दै गएको अहम् भाव वा म नै सर्वश्रेष्ठ हुँ को भावप्रति व्यङ्ग्य गरेका छन् । निबन्धकारले निबन्धमा मपाईंको परिचय, विशेषता र यसका विभिन्न प्रकारहरू व्यक्त गरेका छन् । समाजका हरेक पात्रलाई मपाईंको रोगले सताएको उल्लेख गर्दै के व्यापारी, के कर्मचारी, के नेता, के युवायुवती, के साहित्यकार सबै आफू अरूका मुखबाट असल वा राम्रो भनिन चाहन्छन् । सबैलाई अरूले तारिफ गरिदिए हुन्थ्यो जस्तो लाग्छ तर त्यस्ता व्यक्तिलाई आफ्नै श्रीमतीले समेत तपाईं भन्न रुचाएकी हुँदन भन्दै कामले होइन नामले मात्र आफू ठुलो बन्न चाहने वर्तमान युगीन समाजलाई व्यङ्ग्य गरेका छन् । आफ्नो प्रशंसा पाउन जे जस्ता कार्य गर्न पनि पछि नपर्ने खराब पात्र समाजका जुनसुकै क्षेत्रमा पनि रहेका हुन्छन् भन्दै निबन्धकारले कोही उपाधि पाउन,कसैलाईं पगरी गुथ्न मपाईंत्वको महिमा गाइरहेका हने, त कोही सफलताको शिखर चुम्न मपाईंत्वको महिमा गान गाइरहेका हुन्छन् ।
तँ को आदरार्थी रूप तपाईं भएजस्तै म को आदरार्थी रूप मपाईं व्यक्ति स्वयम्बाट प्रदर्शिंत भइरहेकोले व्यक्तिले अरू सबैलाई चोर, लोफर, आवारा, नामर्द र बेकामे देख्दछ तर ऊ आफूलाईं सज्जन, असल, सद्गुणी र महान् सम्झेर आफ्नो प्रशंसा गर्न र गराउन पछि पर्दैन भन्दै समाजमा बढ्दै गएको यो बेथितिप्रति तिखो व्यङ्ग्यवाण प्रहार गर्नु नै निबन्धको मूलभाव रहेको छ ।
शीर्षकको सार्थकता
‘मपाईं’ भैरव अर्यालको एक हास्यव्यङ्ग्यात्मक निबन्ध हो यसमा हास्यरसको प्रयोग गर्दै समाजमा बढ्दै गएको अहम् भावलाई विषय बनाइएको छ । समाजमा बढ्दै गएको अरू केही होइनन् अनि म सबै हुँ भन्ने भावनाले समाजमा विकृति फैलँदै गएकोमा निबन्धकारलाई चिन्ता लागेको र काममा विश्वास गर्नु पर्नेमा नाममा मात्र विश्वास गर्ने मानवीय स्वभावप्रति निबन्धकारले व्यङ्य गरेका छन् । अरूलाई तुच्छ वा सानो ठान्ने र आफूलाई सर्वेसर्वा ठान्ने रोग हाम्रो समाजका राजनैतिक, साहित्यिक, कर्मचारी तन्त्र, व्यापार आदि जुनसुकै क्षेत्रमा पनि रहेको छ भन्दै निबन्धकारले यसरी फैलँदै गएको मपाईंवादको प्रदर्शनले समाजलाई स्वार्थी बनाएको उल्लेख गरेका छन् । निबन्धको मूल उद्देश्य समाजमा विद्यमान मपाईंत्वप्रति व्यङ्ग्य गर्दै मपाईंवाद होइन तपाईंवाद भएको समाजको चाहना रहेको छ ।
निबन्धको शीर्षक ‘मपाईं’ एक शब्दात्मक छ । प्रयोगात्मक नेपाली शब्दकोशले ‘मपाईं’लाई अर्काले मान नगरेपनि आफै ठुलो ठान्ने प्रवृत्ति वा आफ्नो बडप्पन भनी अर्थ लगाएको छ । निबन्धमा यही मपाईंत्वका बारेमा चर्चा गरिएको छ । निबन्धको विषयवस्तु, निबन्धको विचार वा भाव अनुकूलको शीर्षक रहेकोले यसको शीर्षक अभिधात्मक अर्थमै अत्यन्त सार्थक छ ।
सन्दर्भ सामग्री सूची
अधिकारी, हेमाङ्गराज र बद्री विशाल भट्टराई (२०६३), प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौं ः विद्यार्थी प्रकाशन ।
अर्याल, भैरव (२०२२), जयभुँडी, काठमाडौं ः रत्न पुस्तक भण्डार ।
घिमिरे, रोचक (२०६०), भैरव अर्यालका हास्यव्यङ्ग्य, काठमाडौं ःभैरव पुरस्कार गुठी ।

Top