बालसिर्जना संवाददाता १९ असार २०७७, शुक्रवार

 

अहिले यो कोरोना महामारीबाट बच्नका लागि देशभरी लकडाउन गराइएको छ । यो लकडाउनको कारण हामी घरमै थुनिएर बसेका छौं । घर बाहिर जाने अवस्था छैन । हामी हाम्रो स्कुलको अन्तिम परीक्षा सकिएपछि घुम्न जाने, मिठा मिठा खानेकुराहरु खाने, साथीहरुसँग खेल्ने जस्ता कुराहरु सोचेरे बसेका थियौं । शायद सबैको यहि खालका सोचहरु हुन सक्छन् । तर लकडाउनका कारण यी योजनाहरु बन्दि भए । त्यसैले, म यो लकडाउन समाप्त होस् र जनजीवन सामान्य होस् भन्ने चाहन्छु । मैले लकडाउन खुलेपछि के के गर्ने र को को सँग भेटघाट गर्ने भन्ने योजनाहरु पनि बनाएकी छु । यसमा मेरा लकडाउन अवधिमा कुण्ठित बनेका आफ्ना चाहनाहरुलाई समायोजन गर्न खोजेकी छु ।

यस अघिल्ला विभिन्न विदाहरुमा त म फुरुङ्ग हुने गर्थें किनकी म जहिले पनि मेरी प्यारी हजुर आमा र प्यारो हजुरवुवासँग भेटघाट गर्ने अवसर मिल्थ्यो । मेरी हजुरआमाले मलाई मिठो मिठो खाना पकाएर दिने गर्नुहुन्थ्यो । उहाँको साथमा हुँदा धेरै कुराहरु सिक्ने अवसर आउँथ्यो । उहाँले धेरै कथाहरु तथा उहाँका अनुभवहरु सुनाउनु हुन्थ्यो । गएको वर्षको दशैं विदामा मलाई र मेरी बहिनीलाई रामायण सुनाउँदै हुनुहुन्थ्यो । उहाँले रामायणका केहि अंश सुनाउन भ्याउनुभयो । बाँकी भाग अर्को विदामा सुनाउँछु भन्नु भएको थियो । तर लकडाउनको कारण मेरा योजना त्यहि अनुरुप पूरा हुन सकेनन् । मैले रामायणको बाँकी अंश पूरा गर्नका लागि भनेर हामीले इन्टरनेटमा खोजी गरेर हेरें । हजुरआमाको मुखबाट सुने जस्तो त मलाई आनन्द लाग्न सकेन । हजुर बाबाले हामीलाई साइकलमा बसाएर घुमाउनुहुन्थ्यो र हामिलाई पनि साइकल चलाउन सिकाउनु हुन्थ्यो ।म उहाँहरुसँग फोनमा त बोलिरहन्छु तर अत्यास मेटिएको छैन । त्यसै कारण म लकडाउन खुल्ने वित्तिकै उहाँहरुसँग भेट गर्न जाने सोच गरेकी छु ।

हामी स्कुलबाट छुट्टिएको पनि धेरै नै भइसक्यो । अहिले अनलाइन कक्षा त भइरहेको छ । हामी हाम्रा साथीहरु तथा शिक्षकहरुसँग त बोल्न पाइरहेका छौं ।लकडाउन भन्दा अगाडि हामी साथीहरु मिलेर सँगसँगै पढ्ने खेल्ने गर्थ्यौं । शिक्षकहरुसँग पढाइमा भएका समस्याहरु सहजै राखेर समाधान पाउने गर्थ्यौं । तर अहिले चाहिं हामी पहिले जस्तो पढ्ने सिक्ने अवसरहरु पाइरहेका छैनौं । त्यसैले, म शिक्षकहरुसँग कक्षा कोठाको वातावरणमा सिक्ने आतुर छु ।

त्यति मात्रै होइन, हामि हाम्रा आफन्तहरुसँग नभेटेको पनि धेरै नै भइसक्यो । हामीले आफन्तहरुको पनि ख्याल राख्नुपर्दछ । यस लकडाउनले घरमै बसिरहन र बाहिर ननिस्किने अवस्था पारेको हुनाले पनि मलाई आफन्तहरुसँग पनि मिलेसम्म भेटघाट गर्ने रहर छ ।मलाई मेरो मामा माइजु, मामा घरको हजुरवुवा अनि हजुरआमाको असाध्य याद आइरहेको छ । त्यसैले लकडाउन खुल्ने र तत्कालै स्कुल नखुल्ने अवस्था आएमा उहाँहरुलाई पनि भेट गर्न पाएँ भने रमाइलो हुने थियो । साथै लकडाउन खुलेपछि मिठो मिठो खानेकुराहरु खाने, घुम्न जाने र साथीहरुसँग पार्कहरुमा गएर विभिन्न खेलहरु खेल्न पनि मन छ ।

लकडाउनको समयमा पनि म र बहिनीले घरमै बसेर खेल्न मिल्ने चेस, लुँडो, स्नेक ल्याडर, स्किपिङ्ग र व्याडमिन्टन जस्ता खेलहरु खेलेर रमाइरहेका छौं । त्यहि पनि स्कुलमा साथीहरुसँगै खेलेका क्षणहरु याद आइरहन्छन् । मेरा चाहनाहरु त धेरै छन् । तर के गर्नु यो सबै कुरा लकडाउनमा भर पर्ने रहेछ । अनि लकडाउन फेरि कोरोना भाइरसमा भर पर्ने रहेछ । फेरि पनि स्वास्थ्य सबै थोक हो । घुमफिर र हाम्रा चाहना भन्दा पनि स्वास्थ्यलाई जोड दिनुपर्यो । हामी पहिला जस्तै झोला बोकेर स्कुल जाने अवसर मिलोस् । अनि शिक्षक, आफन्त र साथिहरुसँग दुरी कायम राख्नुपर्ने अवस्था नआओस् ।

रुविआ पराजुली
कक्षा ६
बुढानिलकण्ठ स्कुल, काठमाण्डौ

Top