बालसिर्जना संवाददाता १ असोज २०७६, बुधवार

mother
 

आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँ
साहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ
घोच्दै होला कटु बचनले साहुले नित्य आमा
नार्यो होला हल पनि कठै! साग छर्ने गरामा ।।१।।
रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी
भन्दै होली अब त पतिले ल्याउला भारी तारी
पापा नाना भनिकन सदा बाल बच्चा रुँदा हुन्
आमा तिम्रा नयन दुईमा आँशु झर्ने व्यथा झन् ।।२।।
आँसी नाम्लो सँगिहरु तथा देश छोडेर आएँ
चौतारीका वर पिपलको वायु चीसो गुमाएँ
मीठो पानी चपल छहरा पन्छिको गीतलाई
ठाडो भाखा मधुर पिपिरी सम्झिएँ हाइ हाई ।।३।।
छोडी जन्मस्थल पर गई धन् कमाएर ल्याउँ
च्यातूँ सारा तमसुकहरु स्वच्छ भै खाउँ लाउँ
यस्तो राम्रो सरल सपना छातिमा राखि आएँ
के धन् जोर्थें जिउ पनि गल्यो काल व्यर्थै गुमाएँ ।।४।।
यस्तो लाग्यो अब त घरमा आज नै फर्कि जाउँ
पोखूँ सारा रगत पसिना देशमा नै रमाउँ
मेरै खोले अमृत सरिको साग सिस्नो मिठो छ
झुत्रो भोटो प्रियतम छ है देश मेरै ठुलो छ ।।५।।

स्व.पूर्णचन्द्र घिमिरे

Top