बालसिर्जना संवाददाता ५ असोज २०७६, आइतवार

discipline
 

नानीहरूले सानै उमेरबाट सभ्यता र संस्कृतिको महत्व बुझेर आफ्नो आचरण र स्वभाव पनि त्यस्तै बनाउदै जाउन् भन्ने कुरामा विशेष प्रशिक्षण दिनुपर्छ । उनीहरू सुरुदेखि नै राम्रो संस्कार बनाई असल काममा निरनतर लागि रहुन् ।

उनीहरूमा कहिल्यै पनि खराब विचार र बानी नबढुन् भन्ने कुरामा अभिभावकहरूले होशियारी राख्नुपर्छ ।

बाजे–बज्यै, आमा–बुबा, गुरू, काका–काकी, मामा–माइजू, दाजु–भाउजू,, दिदी–भिनाजू आदि जस्ता मान्यजनहरूप्रति उचित सम्मान र आदर गर्ने तरिकाहरू सिकाउनुहोस् ।

तर कुनै व्यक्ति नाताले मान्नु पर्नेछ वा धनी छ वा ठूलो पदमा छ भन्दैमा ऊसँग अति निहुरिने, चाकरी गर्ने, तिनको भनेको कुरै काट्न हुन्न भन्ने, तिनका सामु चर्को नबोल्ने, तिनले असल–खराब जे अह्राए पनि लुरुक्क परेर मान्ने जस्ता अनावश्यक, हीन मानसिकता र दास मनोवृत्ति बढाउने र स्वाभिमान घटाउने खालका कुराकानी विल्कुल नसिकाउनुहोस् । समाजमा चलेका त्यस्ता कुरा हटाउन प्रयास गर्नोस् ।

आफूभन्दा माथिका र आफ्नो समान उमेरका मान्यजन र इष्टमित्रलाई तपाई को आदर र सानो उमेरकालाई ‘तिमी’ को मायालु व्यवहार गर्न सिकाउनुहोस् । मान्यजनले बोलाउँदा ‘हजुर’ भनेर जवाफ दिनु बेसै हो । तर कुनै व्यक्ति कुनै वर्गमा वा परिवारमा जन्मेको आधारमा उसलाई ‘हजुर’ भनेर जवाफ दिनु बेसै हो ।

तर कुनै व्यक्ति कुनै वर्गमा वा परिवारमा जन्मेको आधारमा उसलाई ‘हजुर’, ‘प्रभु’, ‘ख्वामित्’, ‘मौसूफ’, ‘बक्सियोस्’, ‘मर्जिहोस्’ आदि जस्ता चाकरीवादी शब्द प्रयोग गर्ने बानी नसिकाउनोस् । यसले वर्गीय भेदभावको भावनालाई झन् बढाउँछ ।

हामीकहाँ तथाकथित साना जात र अछूत भनिनेहरूका बुढा–पाकाहरूलाई ठूला जात भनिनेका सानै मानिसले पनि तँ र तिमी भनेर बोलाउने र यसको उल्टो तल्ला जातका भनिने बुढा–पाकाले पनि कथित माथिल्ला जातका सानै मान्छेलाई पनि ‘तपाई’, ‘मालिक’, ‘प्रभु’, ‘ख्वामित्’ ‘गरिक–प्रवर’ जस्ता आदरार्थी र चाकरीका समेत शब्द प्रयोग गर्ने ज्यादै नराम्रो र हेपाहा चलन छ । कति पनि धक नमानी यस्ता चलनलाई छोडिदिनुहोस् ।

उमेर र मान्यता अनुसार सब ठाउँमा सब जातमा “तपाईं” र “तिमी” नै प्रयोग गर्ने चलन चलाउनुहोस् र नानीहरूलाई पनि त्यही सिकाउनुहोस् । जातीय र वर्गीय भेदभाव उन्मूलन गर्ने पहिलो कदम भाषाको सही प्रयोगबाट सुरु हुन्छ भन्ने कुरा नबिर्सनोस् ।

हरि खनाल

 

 

 

Top