बालसिर्जना संवाददाता १४ असार २०७७, आइतवार

 

राजश्व तिरेर देश धान्ने व्यवसायी शून्यमा झरे, राजश्वबाट तलब खानेहरूलाई हाइसन्चो छ । सडकमा सरकारी गाडी चढेर हिँड्नेलाई कुनै रोकतोक छैन । हुनु पनि भएन । किन भने ऊसँग सरकारी पास छ । पास दिने ठाउँमा उनै छन् । सरकारी पास जारी गर्नेलाई कि आफन्तै हुनुप¥यो । कि आफन्तको फोन आउनु प¥यो । कि नेताको सिफारिस हुनुप¥यो । जताततै गफ गरेको सुन्न पाइन्छ –‘म सिडिओलाई भनिदिन्छु जा न पास लिन ! फलानोलाई भन् न भैहाल्छ नि ! हे.. ! तँ जस्तो मान्छेले जाबो पास लिन पनि नसक्ने ?’ सजिलै भन्छन् । तर आमा बा मरेर पाटीमा काजकिरिया पनि गरे कति नेपालीले तिनीहरूलाई त त्यो पासको के आस । जहाज चढेर आउनेलाई सुविधा सम्पन्न होटेलमा तर मजदुरी गरेर भारतबाट फर्कनेलाई नाङ्गेझार पारेका फोटा पनि यी आँखाले देख्नु परेपछि मैले सरकार छ कसरी भनौं ?
सर्वसाधारण जनतालाई सवारी साधन प्रयोग गर्नै पर्दैन भन्ने सोच्छ सरकार । आवश्यक भए त निजी गाडी किन्थ्यो नि भन्ने सोच्छ होला सायद सरकार ! फेरी उपत्यका बाहिरका ग्रामीण जिल्लाहरू जहाँ दिनभरीमा २० ओटा गाडी चल्दैनन् ती ठाउँमा जोरबिजोर लागू गरेर सवारी साधनको नियमन पनि गर्छ सरकार । सुरक्षित तरिकाले उद्योग सञ्चालन गर्न पनि भन्छ, कामदारलाई आउन जान दिँदैन, सरकारले सोच्छ होला उद्योगमा कामदार नै चाहिन्न । सरकार कर तिर्न आइज भन्छ तर बाटोमा हिँड्न दिँदैन । कोरोना कै कहरका बीचमा पनि ठूला मान्छेले बिबाहमा करोडौं उडाए, नेतालाई विशेष सुरक्षाका साथ जहाँ जान पनि छुट भयो, क्वारेन्टिनमा खान नपाएर, आइसोलेसनमा जीवनजल होइन एक थोपा पानी माग्दा नपाएर बिरामी मरे, गरीबले पशुपतिमा लास जलाउने खर्च नपाएर आर्यघाटको पेटीमा छोराछोरी धरधरी रोएको देखेपछि मैले सरकार छ कसरी भनौं ?
राजश्वबाट तलब खानेले व्यवसायीलाई हेपेका छन् । अति जरुरी भनिएका व्यवसायिक कामको सिलसिलामा सडकमा निस्कँदा सुरक्षाकर्मीले खानतलासी गर्छन् । चाहिने नचाहिने सोध्छन् । उनीहरू व्यवसायीलाई तँ तँ भनेर सम्बोधन गर्छन् । सरकारले त्यही गर भनेर सिकाएको त होला । सम्बन्धित निकायका सरकारी कर्मचारी पनि व्यवसायीलाई देखेपछि गिद्दे दृष्टिले हेर्छन् र भन्छन् –‘ए ! व्यवसाय त मालामाल छ नि हैन ? कति कमाइन्छ ? लुटान छ है ?’ घरभाडा तिर्नुपर्छ, ऋणको साँवा व्याज तिर्नुपर्छ, कर्मचारीलाई तलब दिनुपर्छ, मेसिनका पाटपुर्जा मर्मत गर्नुपर्छ, सरकारलाई तोकेकै दिन कर तिर्नु पर्छ नभए जरिवाना तिर्नुपर्छ, व्यवसायिक जोखिमको भुमरीमा पिल्सिनु पर्छ भन्ने कुरा थाहै नपाएका पदाधिकारी र कर्मचारी देखेपछि मैले सरकार छ कसरी भनौं ?
हिँडडुल गर्न छुट दिने निर्णय नहुँदै तरकारी किन्न बिस्तारै बिस्तारै सडक छेउको पसलमा पुगेर यसो सडकतिर हेर्छु, अनि लाग्छ सडक त प्रेस पास र प्रेसको ज्याकेट लगाउनेको मात्र हो । पास लिएपछि र ज्याकेट लगाएपछि कोरोनाले उनीहरूलाई केही गर्न सक्दैन । मैले सूचना विभागमा दर्ता गरेर पत्रिका प्रकाशन गर्न थालेको १० वर्ष लाग्यो । नियमित प्रकाशित गरेको छु तर प्रेस पास लिएर फूर्ति लगाउन मन लाग्दैन । अहिलेसम्म प्रेसपास लिएर, प्रेसको ज्याकेट लगाएर बजार निस्कन खोजिएन तर काठमाडौंका घरधनीहरू जसलाई प्रेस पासको गोरुमुते साइनो छैन उनीहरूका घाँटीमा प्रेस पास छ, शरीरमा अमुक नामका प्रेस ज्याकेट भिरेका छन्, सुरक्षाकर्मीका आँखामा छारो हालेका छन् । पछाडिको ढोकाबाट चिया पसलमा चिया चुरोट बिकेको छ उनीहरूकै लागि । फेरी उनीहरू नै पत्रकारलाई पत्रुकार भनेर हेप्न पछि पर्दैनन् र भन्छन् – ‘तपाईँ पत्रकार हो ? ए ! म त भाइ अलि पढे लेखेको होला भन्ने पो ठानेको थिएँ ! पत्रकार पो हो ? यी पत्रकार त जे पायो त्यही लेख्छन् ।’ तिनैका घरमा १० थरी पत्रिका नियमित आउँछन्, मुखै नधोइ समाचार पढ्नुपर्छ अनि सबैभन्दा ठूलो टिभीमा समाचार पनि तिनैले हेर्छन् तर पत्रकार काम छैन भन्छन् । यता सरकारका मन्त्रीहरू नै पत्रकारको धुँवादार विरोध गर्छन्, फेरी लुकीलुकी मेरो इन्टरभ्यू गर्ने होइन ? भनेर फोन पनि गर्छन् । जोखिम मोलेर पत्रकारले काम गर्छ, समाचार बनाउँछ । भष्टाचारीलाई रङ्गेहात समाउँदा उल्टै पत्रकारलाई कारवाही गर्छ सरकार । सरकार पत्रकारले आफ्नो विरोध गरेको मात्र देख्छ । ‘राम्रो काम गरेको पत्रकारले देख्दैनन् कि के हो ?’ भनेर पत्रकारले चाकडी गर्नुपर्छ भन्ने शैलीमा वक्तव्य निकाल्छ यस्तो देखिरहेको छु मैले कसरी सरकार छ भनौं ?
सत्तासीनहरू मुलुकले प्रगतिको शिखर चुमेको कुरा गरिरहेका बेला कोरोनाको महामारी विश्वभरी फैलियो । उनीहरू नेपालमा आउँदैन भनेर जिद्धी गरे । नेपालको प्रकृति राम्रो छ भनेर फूर्ति लगाइरहे । नेपालमा कोरोना छिरेपछि मास्क, सेनिटाइजर र पञ्चाको खुबै चर्चा हुन थाल्यो । यी सामग्री प्रयोग नगर्नेलाई मान्छे नै हैन कि जस्तो गर्न थालियो । कोरोनाको महामारी शुरु हुनुभन्दा केही समय अगाडि सरकारले मास्क लगाउनेलाई गाली गथ्र्याे । सरकारलाई जिस्क्याउन मास्क लगाएका छन् भन्थ्यो । त्यही सरकारले अति आवश्यक कामले सडकमा निस्केका तर मास्क किन्न नपाएकाहरू लट्ठीले पिट् भनेर सुरक्षाकर्मीलाई सिकायो । काठमाडौंका चोक चोकमा हामी कुटियौं । बजारमा मास्क छैन तैपनि व्ल्याकमा किन्न प¥यो । सरकार राहतका नाममा अरबौं खर्च गरेको डाटा निकाल्छ तर सरकारले अनिवार्य गरेका कुरा किन्न पाइन्न । फेरी ठूलाबडाका घरमा बोत्तलका बोत्तल सेनिटाइजर, मास्कका पोका र पञ्जाका पोका थुप्रिएका छन् । संसदमा दुईटा कुर्सीको फरकमा बैठक बसेको हेर्छु, बाहिर निस्कँदा तिनै सभासद हुलमुल गर्दै निस्कन्छन्, के हो के हो ? बुझिनसक्नु छ । कोरोनाले २० जना मर्दा लकडाउनका समयमा आत्महत्याले हजारौं मरेको खबर पढ्नु पर्छ र दिक्क लाग्छ । के कुरामा सन्तोष लिने ? सरकारले लकडाउन गरेकोमा रमाइलो मान्ने कि हजारौंले आत्महत्या गरेकामा निराश हुने ? दिमाग घुम्छ । नेपालमा गुणस्तर विभाग नाम गरेको संस्था पनि छ तर बजारमा अहिले बिक्री भैरहेका सेनिटाइजर, फिनेल लगायतका हरेक सामग्री कति गुणस्तरीय छन् भन्ने उसले अध्ययन गर्न भ्याएको छैन । पोकाको दूध किनेर चिया खानु प¥यो भनेर किनेर ल्याएँ । पोको खोलेर तताएँ । चिया पकाउने भाँडोमा तातो दूध खन्याएँ । बच्चालाई दूध हेर है भनेर म बाहिर निस्केको बच्चाले भुक्किएर कालो होला भनी दूधमा सिङ्गो कागती निचोरिदिएछ तैपनि दूध फाटेन यो अर्को आश्चर्य भयो । यस्तो भोगेको छु मैले कसरी सरकार छ भनौं ?
प्रेस व्यवसायमा २ वर्ष अगाडि औपचारिक रुपमा प्रवेश गर्दा घरबेटीको भाडा त सजिलै तिरिएला जस्तो लागेको थियो । किन कि सरकार छ, काम जानिएको छ । घरबेटी पनि भलाद्मी छन् । यस्ता घरबेटीकोमा बसेर व्यवसाय गर्दा राम्रै होला भन्ने सोचिरहँदा देशमा यस्तो महामारी पनि आउला, घरबेटी यसरी निष्ठूर बन्लान् भन्ने सोच्दै सोचिएन । गाह्रो प¥यो क्यार ! तीन महिना त व्यवसाय बन्दै गरियो । एकै महिनाको भए पनि घरभाडा मिलाई दिनुस् है भन्दा घरबेटी भन्छन् –‘मैले बैंकबाट ऋण लिएर बनाएको घर हो । मलाई सरकारले व्याज छुट दिएको छैन । किस्ताका लागि बैंकले ताकेता गरेको छ । मैले आफन्तसँग ऋण लिएर घर खर्च चलाएको छु । बरु तपाईले मलाई छिटो घरभाडा दिनु प¥यो । घरको कर पनि वडामा गएर छिटो तिर्नुहोला । अझै बिजुलीको, फोहोरको, सरसफाईको त आजै दिनु है, मैले तिरिसकेको छु ।’ कपाल कन्याएर केही बोल्न खोज्दै गर्दा घरबेटी भन्छन् –‘तपाईं बाहिर जानु भएको त छैन नि ? बाहिर गएको भए त मैले वडामा खबर गर्छु । तपाईं क्वारेन्टिनमा जानुपर्छ । वडाले कोही बाहिर गएर आए भने खबर गर्नु भनेको छ । तपाईं बरु डेरामै बस्नुस् । वडाले त खवर गर्ने बित्तिकै आउँछ र भ्यानमा १५–२० जनालाई कोचेर लैजान्छ ।’ भन्छन् । ओल्लो पल्लो घरमा पनि त्यसै भनेर गफ गरेको सुन्छु । पत्रपत्रिका र रेडियो टिभीमा पनि त्यही सुन्छु । बजारमा आवश्यक पर्ने सामान किन्न जान्छु पाइन्न, तरकारी र खाद्यान्नको मूल्य चर्को छ । किसानका उत्पादन बारीमै फालिएका छन्, उद्योगीका उत्पादन बजारमा पु¥याउने अवस्था छैन । अर्थमन्त्री कर तिर्न करकर गर्छन् । यस्तो बिजोग देख्दा देख्दै म कसरी सरकार छ भनौं ?
बस्ने घरका घरबेटी पनि दिनमा तीन पटक फोन गरेर भन्छन् –‘हजुर कता हुनुहुन्छ ? भाडा ढिलो भयो नि ! सापटी मागेको पनि सकियो । भाडा त आजै खातामा हाल्दिनु है !’ त्यो त ठीकै भने उनले । आफूलाई ज्यान कसरी जोगाउने भन्ने समस्या एकातिर छ । व्यवसायमा परेको चट्याङ्ले मुटु छियाछिया बनाएको छ । फेरी घरबेटीका छिमेकीले घरका भित्तामा आड लागेर –‘त्यो घरमा बस्ने मान्छे त केही दिन देखिएको थिएन, मैले उसलाई देखेर झल्याँस्स भएँ । के गरेको होला है ! टोलमा घरबेटीहरूको सल्लाह नलिईकन यसो गर्न पाइन्छ ?’ छिमेकका प्रत्येक घरबेटीको कटाक्ष अर्को उदेक लाग्दो क्षण हुँदो रहेछ । अब त तरकारी किन्न पसल जान पनि चोर लुकेझैं लुकेर जानु पर्ने अवस्था आयो । काठमाडौंका घरबेटीहरू भाडामा बस्नेहरूलाई कोरोनाको बारेमा थाहै छैन भन्ने सोच्छन् । किन कि भाडामा बस्नेलाई केही कुराको ज्ञानै हुँदैन भन्ने लाग्दो हो घरबेटीलाई । किन कि राजधानीमा घर भएपछि ज्ञानको अजस्रधारा बगिरहन्छ भन्ने आधुनिक चिन्तन हो । यही चिन्तनलाई साकार रुप दिन राजधानीका स्थानीय सरकारले भाडामा बस्नेलाई विशेष निगरानी गर्नुपर्छ है ! भनेर मिटिङ गर्छन् । महिनामा २ लाख घरभाडा बुझ्ने घरबेटीले जम्मा ३०–४० हजारको बहालकर बुझाउँछन् त्यो पनि व्यवसायीले तिर्नुपर्छ । यस्तो देखिराखेको छु म कसरी सरकार छ भनौं ?

(लेखक ः दीनदयाल रेग्मी)

Top