बिमला हुमागाई नेपाली आख्यानमा नयाँ नाम हो । उनको व्यक्तिगत फेहरिस्तसँग यो लेख जोडिएको छैन । केवल आख्यानकारको लेखकीय शैली र आख्यानकलाका बारेमा मात्रै केन्द्रित छ । लेखकका आगामी प्रकाशनले उनको परिचयलाई अझ उजिल्याउने छ । नेपाली आख्यानको फाँटमा लहराएको कृति पढेपछि लेखकका बारेमा खोजीनिति गर्नु पाठकको पनि कर्तव्य रहन्छ । त्यसैले यसमा लेखकलाई पर्दा भित्रै राखेर संक्षेपमा कृतिको अध्ययनलाई मात्रै हेर्ने प्रयास गरिएको छ ।
फरक शैली र फरक धारमा आख्यानलाई अगाडि बढाउने क्रम नेपाली साहित्यमा पनि बढिरहेको छ तर विषयवस्तु भने उही ग्रामीण जनजीवन र परिवेशको चित्रण । नेपाली चलचित्रमा खगेन्द्र लामिछानेले भित्र्याएको वस्तुपरक ग्रामीण जनजीवनको यथार्थ चित्रणको प्रयोगले नेपाली रङ्गमञ्चमा पृथक् पहिचान बनाएको छ । यही ढङ्गको लेखनले पाठकको हृदयलाई प्रभाव पार्न सक्छ भन्ने कुरा ‘अधबैैसे आइमाई’ ले पुष्टि गरेको छ । आफ्नै भोगाईलाई कलात्मक रङ दिँदा आख्यानलाई जति मर्मस्पर्शी बनाउन सकिन्छ कल्पनाकै भरमा उभिँदा त्यस्तो हुँदैन भन्ने कुरामा सत्यता छ । कथानकको रेखाङ्कन गर्दा लेखकले आफूलाई अपरिचित जस्तै राख्न खोज्छन् तर त्यस्ता कृति हृदय संवेद्य हुन सक्दैनन् । कतै न कतै श्रृङ्खला टुटिहाल्छ । प्राकृतिक सरलतामा आघात पुगिहाल्छ, कृत्रिम रङ भरिइहाल्छ । यही कुरालाई लेखकले ध्यानमा राख्न आवश्यक हुन्छ । कलमले लेखेजस्तो एकैनासले जीवनको गति चल्दैन, न त जीवन जस्तोसँग चलेको छ त्यस्तै लेख्न सकिन्छ । लेखकले त सकेसम्म आफूलाई नढाँटी वास्तविक जीवनको गोरेटोलाई पछ्याउँदै यात्रातय गर्नुपर्छ मार्गमा कति ठाउँमा ठेस लाग्छ कुनै ठेगान छैन । यिनै यात्राका कुइनेटामा नथाकेर अगाडि बढ्न सक्ने लेखकले सौन्दर्यपूर्ण आख्यान कोर्न सक्छ, बिमला त्यही मार्गमा उदाएकी लेखक हुन् भन्ने आभास ‘अधबैंसे आइमाई’ ले दिलाएको छ ।
सोचे जस्तो कहिल्यै पनि हुँदोरहेनछ । कल्कलाउँदो बैंशले भरिएको जीवनमा कति चाहना र इच्छाले डो¥याएका हुन्छन् तर ती पूरा हुनका लागि कति गाह्रो छ भन्ने कल्पनासम्म गर्न सकिन्न । लेखकले भोगेका तिता मिठा यथार्थ सबैलाई एकै ठाउँमा राखेर मू्ल्याङ्कन गर्दा लेखकप्रति न्याय हुँदैन । कति कुरा सुन्नेलाई र देख्नेलाई नमिठो लागे पनि भोग्नेका लागि सुपारी चपाए जस्तो स्वादिलो भैरहन्छ । लेखकले भोगेका कतिपय क्षणमा प्राप्त आनन्दको अनुभव गर्ने अवसर प्राप्त गर्न पाठकले धेरै मेहनत गर्नुपर्छ । सतहमा बसेर अनुभव गरिने दुःखलाई सुख हो भनेर बुझ्नका लागि आफैं पात्र बन्नु पर्छ । पूर्वीय साहित्य सिद्धान्तमा नखशिख वर्णनको जुन परम्परा छ त्यसले कष्टमा पनि स्वर्गीय आनन्दको अनुभूति प्राप्त गर्न सघाइरहेको छ । एउटी महिलाका लागि बच्चा जन्माउन पाउँदाको खुशीका अगाडि नौ–दस महिनासम्म पेटमा बोकेर, ज्यानलाई अचानोमा राखेर भोग्नु परको प्रसुती पीडा नगण्य हुन्छ । प्रेमिकाका लागि ज्यानको बाजी लगाएर खतरा मोल्ने घटना साश्वत छ, तर त्यो खतरा भन्दा मिठो प्रेमिकासँगको मिलन हुन्छ भन्ने कुरा त्यसलाई वास्तविकतामा भोग्नेले नै बुझेको हुन्छ ।
यौवनको उर्लंदो खहरेले कहाँ कहाँ पहिरो लैजान्छ, कहाँ कहाँ बढार्छ कसलाई थाह हुन्छ र ? तिर्खाएर राप्एिको बेला यौवनको प्यास मेट्ने क्रममा अनेक चोट सहनु परे पनि केही छैन, ती चोटभन्दा धेरै आनन्द त तिर्खा मेटिनुमा छ । खहरे थिग्रिएपछि जे होला देखाजाएका, बर्खे भेलमा के के जेल्टिएर आउँछन् तिनको प्रवाह गर्न थाल्यो भने यौवनको भोक पक्कै मेटिन्न । यही विषयको केन्द्रियतामा ‘अधबैंसे आइमाई’ को मूलकथ्य अगाडि बढेको छ ।
नेपाली साहित्यमा एउटा नयाँ प्रयोग भएको कृति हो ‘अधवैंशे आइमाई’ । वास्तबिकतालाई कलात्मक रङ चढाएर औपन्यासिकताको शिखरमा पु¥याउन सक्नु चानचुने कुरा होइन । आकारका दृष्टिले मध्यम आकारमा सजिएको भए पनि संक्षिप्त शैलीमा आद्योपान्त मिलेको आख्यानको चोटिलो प्रयोग गर्नु बिमलाको विशेषता हो । आदि, मध्य र अन्त्यको संयोजनमा केही कसरमसर बाँकी छन्, उही र उस्तै खालका कथनहरूको पुनरुक्तिले कतै कतै चसक्क पार्छ । कुन उत्साहका साथ आख्यान आरम्भ भएको थियो कुन संयोगमा हठात् टुङ्गिएको छ भन्नेमा लेखक द्विविधामा परेको स्पष्ट हुन्छ । भाषिक गोडमेलको खाँचो अझै थियो त्यसले पनि प्रबुद्ध पाठकको मनमा चस्का पस्ला तर समग्रमा पहिलो कृतिका यी कमजोरी नगण्य छन् ।
औपन्यासिक कला र आख्यानमा देखिएको एकरुपता यस कृतिका गहना हुन् । कस्तो राम्रो कोरीबाटी र साजसज्जा ! मोहनी नै लगाउने खालको । वाक्यगठनमा पनि कति सचेत । कलात्मकता र वास्तविकताको दोसाँधमा रहेर पनि पाठकको ध्यान तानिरहन सक्ने खुबी यस उपन्यासमा छ । वास्तविकता मात्रै भएको भए पाठक चौथो पानामै निदाउँथ्यो र कलात्मकता मात्रै भएको भए हिन्दी उपन्यासको कपी भन्थ्यो तर त्यस्तो हुन पाएको छैन । कथानक मौलिक छ र नेपाली समाजको अधुनातन पुस्ताले भोगेको यथार्थ प्रतिबिम्बित भएको छ । लेखकले सचेतता पूर्वक आख्यानको लहरोमा कला भर्दै पाठकलाई आकर्षित गरिरहन सक्षम छन् । खुला यौनका कथाले भरिएका बजारिया उपन्यासलाई एउटी अधबैंसे उमेरकी लेखिकाले कति सावधानी पूर्वक लेखेकी छन् तर कति ठाउँमा सामाजिक मर्यादालाई कायम राखेकी छन् भन्ने कुरामा पनि लेखकको मूल्याङ्कन गर्नुपर्छ । खुला र छाडा यौनलाई छरपष्ट पारेर प्रस्तुत गर्नुलाई यथार्थवाद ठान्नेका अगाडि लेखक चुनौति बनेर उभिएको देखिन्छ । गाह्रो छ लोकमर्यादामा रहेर वास्तविकताको पेटार फुकाएर मनको बह पोख्न । मनको बह नपोखौैं मन मान्दैन, बह पोखौं ‘कस्ती उछालिएकी आइमाई’ भनेर ठोस्छन् । यी सबै लोकलाज र कचकचबाट बँचेर साहित्यमा उदाउन सक्नु आफैमा ठुलो कुरा हो ।







