तोते स्वर सुनी सुनी खुशी भयौ साच्चै रमायौ तिमी ।
निस्कोस् -याल सिँगान त्यो पनि मिठो भन्दै रमायौ तिमी ।।
उल्टो क्यै म गरें भने पनि सधैं सुल्टै बनायौ तिमी ।
बाँचोस् यो अरु क्यै म माग्दिन भनी माया खन्यायौ तिमी ।।१।।
गर्दै ढल्पल भूमिमा थिरिथिरी गर्थें रमायौ तिमी ।
लड्ला है ! अब लौ भनी झटपटी दौडी समायौ तिमी ।
साँच्चै पुत्र सिपालु छौ अति भनी फूर्ति लगायौ तिमी ।।
आफ्नो सुख्ख बेच्यौ नि हेर सजिलै आस्था जगायौ तिमी ।।२।।
खोला झैं अविछिन्न बग्न सकिने तिम्र्रै सुखी साथ छ ।
सप्पै खेल्न हुने रमाउन हुने तिम्रै खुला काख छ ।।
मैले जे मन पार्दछु त्यही तिमी खोज्छौ खुवाउँ भनी ।
विद्यामा बल बुद्धिमा इलममा माथी पु-याउँ भनी ।।३।।
चारै वेद पढोस् र पण्डित बनोस् ज्ञानी बनोस् सन्तती ।
राम्रो डाक्टर होस् सके, वकिल होस् जे होस् गरोस् उन्नती ।।
भन्दै कष्ट सही सही कहर ती काट्यौ तिमीले सधैं ।
पृथ्वी झैं कुटियौ सबै रहर ती मा¥यौ तिमीले सधैं ।।४।।
हस्कन्नौ शुभ होस् फुलिफलिरहोस् भन्दै उज्यालो छ¥यौ ।
आफ्नो नाम मिटोस् टुटोस् तर खुशी सन्तानलाई भ¥यौ ।।
निन्दामा स्तुतिमा सधैं सरल भै सत्पुत्र फक्रोस् भन्यौ ।
तिर्खा भोक सबै सहेर तनले इच्छा ममा भर्दियौ ।।५।।
अर्काले नमिठै भनोस् तर तिमी ओत्छौ मलाई सधैं ।
पैसा छैन र तैपनि कति किनौं सोध्छौ मलाई सधैं ।।
मैले दुःख दिएँ सधैं लुटें खुशी सबै चुन्छौ मलाई सर्धै ।
मेरा पुत्र सुपुत्र हुन् भनी भनी मागिरहन्छौ सधैं ।।६।।






