बालसिर्जना संवाददाता २४ भदौ २०७६, मंगलवार

 

विश्वमा बालबालिकाका क्षेत्रमा धेरै कार्यहरू भैसकेका छन् । बालबालिका भनेका समाजका अभिन्न अङ्ग हुन् भन्नेमा अब दुई मत पनि छैन । उनीहरूलाई दया र माया मात्र होइन अबसर पनि दिने बेला आइसकेको छ । भोलिको राष्ट्रका कर्णाधारका रूपमा रहेका बालबालिकालाई हेय दृष्टि राख्ने परम्परालाई अब विश्वले पन्छाइसकेको छ । हरेक समाजमा बालबालिका हुन्छन् । ती बालबालिका भनेका काँचो माटो जस्तै हुन् । जसलाई जे बनाउन चाह्यो त्यही बन्छन् । खाँचो केबल चिन्तनको हो । कुन ढाँचामा त्यो माटोलाई हाल्ने र कस्तो सामग्री बनाउने भन्ने कुराको निर्णय अभिभावकले गर्नु पर्छ । पूर्व बाल्यकालको समय उनीहरूको शारीरिक विकास र मानसिक विकासको समय हो । पूर्व बाल्यकालमा उचित पालनपोषण भएन भने मानसिक अवस्थाको विकास पनि राम्रोसँग हुन पाउँदैन । त्यसैले बालबालिकाको पहिलो संरक्षण भनेको उनीहरूलाई बाल्यकालमा उचित स्याहार सुसार र पालनपोषण गराउनु नै हो । त्यसपछिको संरक्षण भनेको उनीहरूलाई राम्रो शिक्षालयसम्म पु¥याएर असल शिक्षाको शुरुवात गराउनु हो । किन कि कुनै पनि बालबालिकाको प्रारम्भिक शिक्षा राम्रो ठाउँमा भएन र राम्रो सङ्गतमा उनीहरू हुर्किन पाएनन् भने बालबालिकामा भएको उर्जा नकारात्मक दिशा तर्फ मोडिन सक्छ । उनीहरूमा भएको सिर्जनशीलता गलत बाटो तर्फ लाग्न सक्छ । त्यसपछिको संरक्षण भनेको उनीहरूमा सामाजिक सद्भावको विकास गराउनुका साथै उनीहरूलाई तिमीहरू पनि समाजका सक्रिय सदस्य हौ र समाज विकासमा तिमीहरूको उल्लेख्य सहभागिता हुनुपर्छ भनेर सिकाउनु हो ।

प्रारम्भिक शिक्षा कस्तो र कसरी ?
बालबालिका हुर्कँदै गए पछि उनीहरूलाई कस्तो शिक्षालयमा लैजाने भन्ने समस्याले धेरै जसो अभिभावकलाई सताएको हुन्छ । आफ्ना बालबालिकालाई भविष्यमा के बनाउने, कस्तो बनाउने भन्ने सोँच पनि उनीहरूमा विकास भैसकेको हुन्छ । आफ्ना अघिल्ला पुस्ताका व्यक्तिहरू कुन कुन विषय पढेर के बनेका छन् त्यस्तै बनाउने सोँच धेरै अभिभावकमा रहेको हुन्छ । त्यसका लागि उनीहरूले कस्तो विद्यालयको छनौट गर्ने भन्ने कुरामा मन डुलाएका हुन्छन् । जति सुकै शिक्षित र जाने बुझेको भए पनि हरेक व्यक्तिले अरूका लागि निर्देशन दिन जानेको भए पनि आफ्ना बालबालिकालाई के गर्ने भन्ने कुरामा सजिलै निर्णय लिन सक्दैनन् । आखिर प्रारम्भिक शिक्षा जस्तो भए पनि उनीहरूलाई सिर्जनशील, अनुशासित र नियमित हुने कुराको शिक्षा प्रारम्भिक अवस्थामा दिनु राम्रो मानिन्छ । अनि कति उमेरदेखि विद्यालय पठाउने भन्नेमा पनि आफ्नै निर्णय गर्न हम्मे हम्मे पर्दछ । फलानोले यति वर्षमा पठायो मैले के गर्ने होला ? उसको त उमेर सानो भए पनि शरीर हृष्टपुष्ट छ । हाम्रो छोरा÷छोरी त साह्रै सानो जस्तो लाग्छ । कलिलैमा स्कूल पठाएर पनि के गर्नु । शरीर राम्रो भए पो ज्ञानले काम गर्छ र आखिर सानैमा पठाए पनि सबै पढिसक्ने होइनन् क्यारे भन्ने एकथरी हुन्छन् भने अर्कोथरी कतिबेला स्कूल भर्ना गरिदिने होला भन्ने चिन्ताले पिरोलिइरहेका हुन्छन् । आखिर दुबै थरीको चिन्ता भनेको आफ्ना नानीलाई समयमा उचित शिक्षा दिएर अरुभन्दा राम्रो कसरी बनाउन सकिन्छ भन्ने नै हो । त्यसैले समय नपुगी पनि विद्यालयमा पठाउन राम्रो हुँदैन भने विश्वको बदलिँदो परिवेशअनुसार प्रारम्भिक शिक्षाका लागि धेरै समयपछि स्कूल भर्ना गर्नु पनि राम्रो मानिँदैन ।

बालबालिकामा पुस्तक मोहको विकास गरौं
हाम्रा बालबालिकाहरू दिनप्रतिदिन पुस्तकबाट टाढिन खोजेको पाइन्छ । सानै उमेरमा स्कूल भर्ना हुने र स्कूल भर्ना भएपछि झोला भरी पाठ्यपुस्तक बोकेर स्कूल जानु पर्ने । बिहानदेखि बेलुकासम्म तिनै पाठ्यपुस्तकका पानामा घोटिनु पर्ने । घरमा पनि बाहिरी पुस्तक भन्दा पाठ्यपुस्तकमै ध्यान दिनु पर्ने । विद्यालयले पनि बालबालिकालाई सिर्जनशिल बनाउने भन्दा पाठ्यपुस्तक घोकेर परीक्षामा धेरै नम्बर ल्याएकामा स्यावासी दिने । अभिभावकले पनि परीक्षामा कति नम्बर ल्यायो ? किन अर्कोले भन्दा आफ्नो बच्चाले कम नम्बर ल्यायो भनेर चिन्ता मान्ने जस्ता कारणले पनि बालबालिकामा पुस्तक प्रतिको मोह घटेको हुन सक्छ । अनि धेरै अभिभावकहरूमा के भ्रमको विकास भैरहेको छ भने विद्यालय पठाएपछि त त्यहाँ ज्ञानको क्याप्सुल घोटेर नानीहरूलाई पिलाइन्छ त्यसैले घरमा बच्चाहरूलाई के समय दिनुपर्छ र ? भन्ने सोँचाई रहेको पनि पाइन्छ । त्यसैले गर्दा उनीहरूले आफ्ना बालबालिकालाई बजारबाट नयाँ नयाँ पुस्तक, पत्रपत्रिका र शैक्षिक सामग्री किनेर ल्याउने गर्देनन् । पछिल्लो समयमा कम्प्युटरको विकास भएपछि त झन् बालबालिकाहरूको पुस्तक मोह घट्दै गएको छ । कम्प्युटरमा पाइने सस्ता सामग्रीमा उनीहरूको समय बितिरहेको हुन्छ । हुन त कम्प्युटरको ज्ञान दिनु हुँदैन भन्ने त होइन तर उनीहरूले कम्प्युटरमा के गरिरहेका छन् भनेर बेला बेलामा ध्यान नदिँदा कम्प्युटरका अनावश्यक र सस्ता सामग्रीमा उनीहरूको समय खेर गैरहेको हुन्छ । उनीहरूको समय मनोरञ्जनमा मात्रै बितेको हुन्छ । त्यसैले आफ्ना बालबालिकाका लागि आवश्यक पुस्तक, पत्रपत्रिका र शैक्षिक सामग्री व्यवस्था गरिदिने र पुस्तक पढ्ने बानीको विकास गराउने कुरामा ध्यान दिन आवश्यक छ है !

बालबालिकाको निगरानी पनि आवश्यक छ
सबै अभिभावकलाई आफ्ना बाबु नानीहरू राम्रा छन् भन्ने लाग्नु स्वाभाविक नै हो । आफ्ना बाबु नानीले गरेका नराम्रा कुरालाई पनि ढाकछोप गर्ने र फुरुङ्ग पार्ने बानी कतिपय अभिभावकमा रहेको हुन्छ । जसले न अभिभावकलाई फाइदा गर्छ न बालबालिकालाई नै । उनीहरूले गरेका गल्तिलाई समयमै सच्याउन सके भोलिका दिनमा उनीहरूले अर्को गल्ति गर्न पाउँदैनन् । गल्ति गर्दा त सजायँ भोग्नुपर्छ, त्यसैले गल्ति गर्न हुँदैन है भन्ने भावनाको विकास हुन थाल्छ । बालबालिकाले जे गरे पनि राम्रो मान्ने बानीले उनीहरूमा आफुले जे गरे पनि हुन्छ भन्ने सोचको विकास हुन सक्छ । जसले गर्दा उमेर छिप्पिँदै गएपछि उनीहरूलाई सही मार्गमा ल्याउन अप्ठ्यारो पर्न सक्छ । बालबालिकाहरूको उमेर बढ्दै गएपछि उनीहरू साथीसँगीहरूसँग बढी घुलमिल हुन थाल्छन् । अभिभावकलाई भन्दा बढी विश्वास साथीहरूलाई गर्छन् । साथीका अभिभावकलाई आफ्ना अभिभावक भन्दा बढी विश्वासिलो मान्न सक्छन् । सबै साथीभाइहरूको संगत राम्रो हुन्छ भन्न पनि सकिन्न । कतिपय बालबालिकाहरू साथीको सहयोग पाएपछि नराम्रा कार्यमा पनि लाग्न उक्सिन्छन् । त्यसैको लहैलहैमा लागेर आफ्ना बालबालिका पनि बिग्रिने सम्भावना हुन्छ । पछिल्लो समयमा विकसित भएको कम्प्युटर खेलमा पनि अधिकांश समय बिताउन सक्छन् । कम्प्युटरमा प्राप्त हुने अश्लिल भिडियो र चित्रहरू हेन सिकेका हुन्छन् । अभिभावकको मोवाइल पाउने बित्तिकै गेम खेल्ने र अश्लिल चित्र र भिडियोहरू हेर्ने गर्न सक्छन् । साथीभाइको बहकावमा लागेर स्कूल छोडी चलचित्र हेर्न जान सक्छन् । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकाको जति विश्वास गरिन्छ त्यत्तिकै मात्रामा निगरानी पनि राख्न जरुरी हुन्छ ।

आफ्ना नानीहरूलाई प्रतियोगी बनाउनु पर्छ है !
हरेक अभिभावकले आफ्ना छोराछोरी हरेक प्रतियोगितामा सहभागी भएर पुरस्कार जितेको हेर्न चाहन्छन् । सुन्न चाहन्छन् । संचार माध्यममा आफ्ना छोराछोरीले पुरस्कार पाएको समाचार सुन्न लालायित हुन्छन् । छिमेकीका अगाडि आफ्ना बालबालिकाले गरेको प्रगतिका बारेमा खुलेर गफ हाँक्न पाए आनन्द महसुस गर्छन् । तर तिनै अभिभावकले आफ्ना छोराछोरीले कसरी प्रतियोगितामा भाग लिन सक्छन् र पुरस्कार जित्न सक्छन् भन्ने बारेमा खासै चासो राखेको भने पाइन्न । आफ्ना छोराछोरीको के कुरामा रुची छ ? कुन विषयमा उसले बढी चाख राखेको छ भन्ने कुरालाई ध्यान दिएर त्यसैमा उसको हौसला बढाउने हो भने पक्कै पनि पुरस्कार जित्न सक्छ । कसैलाई खेलकूदमा, कसैलाई सामान्यज्ञान अर्थात क्विजमा, कसैलाई वादविवादमा, कसैलाई वक्तृत्वकलामा, कसैलाई पढाईमा, कसैलाई नाटक, गीत संगीत र नृत्यमा रुची रहेको हुन्छ । उनीहरूमा रहेको रुची अनुसारको विधामा सहभागी गराउने हो भने आफुले चाहेको र रुची रहेको विधामा पक्कै पनि बालबालिकाले राम्रो परिणाम हाँसिल गर्न सक्छन् । जुन कुरामा बालबालिकाको रुची छैन तर अभिभावकको करकापले सहभागी भएको छ त्यो विधामा कसैले पनि सफलता पाउन सक्दैनन् । यस बाहेक कतिपय अभिभावकहरू आफ्ना छोराछोरी केवल पढाईमा मात्र लागून् । अरू कुरामा भुलेभने पढाईलाई असर पर्छ भन्ने सोँचाईमा रहेका हुन्छन् । यो सरासर गलत धारणा हो । मानिसका लागि केवल पढाई मात्र प्रयाप्त हुँदैन । प्रतियोगितामा भाग नलिने बालबालिकाको चौतर्फी विकासको सम्भावना पनि कम हुन्छ । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकालाई प्रतियोगितामा सहभागी गराउन पर्छ है !

बालदिवसको औचित्य र महत्त्व
सरकारले हरेक वर्ष तामझामका साथ बालदिवस मनाएको हुन्छ । हरेक सरकारी कर्मचारीले बालदिवस मनाएको थाहा पाउँछन् । कतिपय स्कूलका बालबालिकालाई सडकमा झण्डा बोकाएर मार्चपास गराइन्छ । स्कूलको नाम भएको व्यानर बोकेर बालदिवसका अवसरमा आयोजना गरिएका सभा समारोहमा भाग लिन लिएर गएका दृष्यहरू पनि प्रशस्त देख्न पाइन्छ । त्यसरी मनाइने बालदिवसको अर्थ के हो भन्ने बारेमा ती सहभागी बालबालिकाले कति बुुझेका हुन्छन्, कति बुझेका हुँदैनन् त्यसको हेक्का न सम्बन्धित स्कूलका शिक्षक शिक्षिकाले बुझेका हुन्छन् न सभा समारोहको आयोजना गर्ने र त्यहाँ भाषण गर्नेले बुझेका हुुन्छन् न त सहभागी हुन पठाउने अभिभावकले बुझेका हुन्छन् । हरेक वर्ष बालदिवस आउँछ जान्छ । हातमा झण्डा लिएर केही बेर हिँडेपछि र दुई चार कुरा सुनेपछि सकिन्छ । तर वर्ष दिन भरी संचार माध्यममा सुनिने बालबालिकाले पाएका यातना, बालअधिकारको दुरुपयोग, बालहिंसा सम्बन्धी समाचारको न्यूनीकरणका लागि भएका सार्थक प्रयास सुन्न पाइन्न । धनीमानीका घरमा भाँडा माझेर बस्ने बालबालिकाका लागि त्यो दिवस त कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको हुन्छ । त्यही घरका विद्वान् साहुजी बालदिवसका दिन बालश्रम शोषणका विरुद्धको भाषण तयार गरिरहेका हुन्छन् । हजारौं बालबालिकाले घाँस दाउराको गहुँ्रगो भारी बोकेर पसिनाले भिजेको भोटो निचोरिरहेको बेला शहरका ठूला ठूला हलमा बालदिवसका नारा र भाषण घन्किनुले बालदिवसको औचित्य र महत्त्व दर्शाएको हो त…

चाडपर्व र बालबालिका
चाडपर्व बालबालिकाका लागि हो भन्ने गरिन्छ । हुन पनि बालबालिकाका लागि चाडपर्वको जति महत्त्व छ, जति रमाइलो छ त्यति अरुका लागि छैन । राम्रो लुगा, मीठा खानेकुरा अनि साथीसँगीको भेटघाट जति बालबालिकाका लागि चाखलाग्दो छ त्यति अरुका हुने कुरै भएन । अरुका लागि चाखलाग्दो भएर पनि पुग्दैन । बालबालिकाले मागेपछि भयो । कसरी जुटाउने र कसरी पु¥याउने भन्ने त अभिभावकको जिम्मा हो । अर्कोले के लायो के खायो बालबालिकाले असाध्यै तुलना गरेर हेर्छन् । उसकोमा यो भयो त्यो भयो हाम्रोमा किन भएन । उसकोमा जे भैसक्यो त्यही कुरा उनीहरूलाई आफ्नोमा हुनुपर्छ । कलिलो मस्तिष्कले झञ्झट बेहोर्न जान्दैन । अरुका अगाडि कमजोर देखिन पनि चाहन्न । वयस्कहरू कपडा देखाउनका लागि भन्दा पनि आवश्यकताका लागि बढी प्रयोग गर्छन् तर बालबालिकाहरूलाई अरुलाई देखाउनका लागि पनि राम्रो कपडा चाहिन्छ । घरको आर्थिक अवस्था के छ, कसरी चलेको छ त्यसको बारेमा उनीहरूले खासै जानकारी राख्दैनन् । अनि बालबालिकालाई जानकारी दिने चलन पनि छैन । कुनै बालबालिकाले सोधिहाल्यो भने पनि तँलाई किन चाहियो ? किन जान्ने हुनुप¥यो भन्ने उत्तर पाइहाल्छन् । त्यसैले पनि उनीहरूलाई त्यस्ता कुराको कुनै मतलब हुँदैन । हरेक मान्छे जुनसुकै कुरामा अघिल्लो वर्षभन्दा राम्रो गर्न खोज्छ, राम्रो बनाउन चाहन्छ । बालबालिका पनि अघिल्लो वर्ष यस्तो थियो अहिले त त्यो भन्दा बढी यस्तो हुनुपर्छ भन्छन् किनकि बालबालिकाहरू नयाँ कुरामा सधैं रमाउन खोज्छन् । त्यसैले बालबालिकालाई जति चाडपर्वको रमाइलो छ त्यति अरुका लागि हुँदैन ।

Top